काठमाडौं — भारतको उत्तराखण्डमा मंगलवार दिउँसो आएको भीषण बाढीमा परेर चार जनाको ज्यान गएको छ भने सैनिक जवानसहित करिब १०० जना बेपत्ता भएका छन्। उत्तराखण्डको खीरगंगा नदीमा अचानक बाढी आएपछि धराली बजारका घर, होटल, मन्दिर र त्यहाँ रहेका मानिसहरू बगाएको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ।
दिउँसो करिब साढे १ बजेतिर आएको बाढीका कारण चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ठूलो संख्यामा मानिसहरू वेपत्ता भएका थिए। हिन्दुस्तान टाइम्सका अनुसार, हालसम्म बेपत्ता हुनेको संख्या १०० पुगेको छ। वेपत्तामध्ये १० जना भारतीय सशस्त्र बलका जवान रहेको बताइएको छ। उनीहरू हर्सिलको तल्लो क्षेत्रमा रहेको सशस्त्र बलको क्याम्पमा बसिरहेको बेला बाढीले बगाएको हो।
बेपत्तामध्ये स्थानीय बासिन्दासँगै पर्यटकहरू पनि परेका हुनसक्ने अनुमान गरिएको छ।
बाढीपछि भारी वर्षा जारी रहेकाले हेलिकोप्टर र सुरक्षाकर्मीहरूको उद्धार कार्यमा समस्या भएको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले जानकारी दिएका छन्। साँझपख उद्दारमा थप कठिनाइ आएको र मौसम प्रतिकूल भएका कारण जोखिमपूर्ण अवस्थामै उद्धार भइरहेको उनले बताएका छन्।
मुख्यमन्त्री धामीले सामाजिक सञ्जालमार्फत अहिलेसम्म ८० जनाको उद्धार भइसकेको जानकारी गराएका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ।
भारतको उत्तराखण्ड क्षेत्रमा पछिल्लो समय मनसुन सक्रिय बनेसँगै नदी, खोलामा बाढी र पहिरोको जोखिम उच्च बनेको छ। स्थानिय प्रशासन र सेनाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न तयारी थालेको छ।



















