काठमाडौं—नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा आफूहरू पनि रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अख्तियार र छानबिन समितिले काम गरिरहेको भन्दै रास्वपाले प्रक्रियाभन्दा बाहिर गएर विरोध जनाएको टिप्पणी गरे ।
पछिल्ला ५ गृहमन्त्रीको तथ्याङ्क हेर्दा रवि लामिछाने गृहमन्त्री हुँदा नै छोटो अवधिमा धेरै भिजिट भिसामा गएको देखिएको शर्माले बताए ।
उनले रास्वपालाई भने, ‘भिजिट भिसामा सबैभन्दा धेरै मानिस त तपाईंकै सभापति गृहमन्त्री भएको बेलामा गएका रहेछन् । यतिकै आधारमा भन्दै गर्दा रविजीकै पालामा सबैभन्दा धेरै मानव तस्करी भएको रहेछ भन्ने निष्कर्ष हो ?’
उनले आवेग, अराजक शैली र अडानबाट मुक्त हुन आग्रह गरे ।
त्यसैगरी शर्माले गत सोमबारको प्रतिनिधिसभाको बैठकमा सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई ‘निर्दोष’ भन्न नमिल्ने तर्क गरेका थिए । उनले सहकारी ठगीमा संलग्न भन्दै ५ सयभन्दा बढी व्यक्तिहरू जेल परेका तर रवि लामिछाने मात्र निर्दोष ठहरिन नमिल्ने टिप्पणी पनि गरेका थिए ।
‘५ सय जना जेल परेका छन्, तीमध्ये ४९९ जना ठग अनि एकजना रवि लामिछाने चाहिँ निर्दोष ?’, ‘कसरी ? किन ?’ भन्ने उनको प्रश्न थियो ।




















