काठमाडौँ—समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउने भएकी हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भदौ ७ देखि ९ गतेसम्म हुने यो भ्रमण भियतनामकोतर्फबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो।
भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। साथै, सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने तालिका पनि तय गरिएको मन्त्रालयले जनाएको छ।
यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवसमेत भएकाले यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फर्कने कार्यक्रम छ।




















