काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास आतङ्ककारी समूहद्वारा अपहरणमा परेका तनहुँका विपिन जोशीलाई सकुशल फर्काउन सरकारले सबै प्रयास गरिरहेको बताएका छन्।

ओलीले फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै विपिनकी आमा पद्मा र बहिनी पुष्पासँग भेट भएको तस्वीरसमेत पोस्ट गरेका छन्। उनले लेखेका छन् – “विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि भेट भयो। विपिनको सकुशल उद्धार र फर्काइका लागि सरकार सक्रियतापूर्वक लागेको छ।”

विपिनको उद्धारका पहलका क्रममा उनकी आमा र बहिनीले इजरायली राष्ट्रपति तथा संसद् अध्यक्षसँग समेत भेटवार्ता गरेर नेपाल फर्केका छन्। ओलीका अनुसार, सरकारले यो प्रकरणलाई उच्च प्राथमिकतामा राख्दै जिम्मेवारी पूरा गर्ने दृढता लिएको छ।

तनहुँका २२ वर्षीय विपिन जोशी उच्च शिक्षा र रोजगारीका लागि इजरायल गएका थिए। गत वर्ष अक्टोबरमा हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु हुँदा केही घाइते भएका थिए। त्यही घटनामा विपिनलाई अपहरण गरिएको पुष्टि भएको थियो।