काठमाडाैं—संयुक्त अरब इमिरेट्स (यूएई)मा समस्यामा परेका सात नेपाली श्रमिक उद्धारपछि सुरक्षित रूपमा नेपाल फर्किएका छन् । सातजनै नेपाली गएराति नेपाल फिर्ता भएका हुन् ।
केही दिनअघि एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीलाई सम्बोधन गरी कृष्णप्रसाद मराइज, लिला बहादुर तामाङ, अमन तामाङ, राजन बस्नेत, सबिन बि.के., हेमबहादुर सुनार र राज बि.के. गरी सात जनाले काम र सुविधाको अभावबारे निवेदन दिएका थिए ।
म्यानपावरमार्फत यूएई पुगेका उनीहरूले सम्झौता अनुसारको काम र सुविधा नपाउने, पछि तलबसमेत नपाउने र खानाबस्नको अभावमा सडकमा दिन बिताउन बाध्य भएको यथार्थ सार्वजनिक भएपछि उद्धार प्रक्रिया अघि बढाइएको एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष तथा राहत उद्धार समिति संयोजक भीम मल्ल ठकुरीले जानकारी दिए ।
उनका अनुसार उद्धार क्रममा ४ जना श्रमिकको हवाई टिकट संस्थाले व्यवस्था गरेको हो भने बाँकी ३ जनाको टिकट समाजसेवी सबिन तामाङको सहयोगमा जुटाइएको हो ।
जसअनुसार बिहान एनआरएनए आईसीसी उपाध्यक्ष मनोज कुमार श्रेष्ठ, उपाध्यक्ष तथा उद्धार समिति संयोजक भीम मल्ल ठकुरी र समाजसेवी सबिन तामाङको उपस्थितिमा पीडित सातै जना नेपालीलाई विमानस्थलसम्म पुर्याई सुरक्षित रूपमा नेपाल पठाइएको उनको भनाइ छ । यूएईमा करिब ८ लाख नेपाली कार्यरत छन् ।




















