काठमाडौं — समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति वाे थी आन्ह सुआन नेपालको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी गएराति स्वदेश फर्किएकी छन् । उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल आएकी थिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ अधिकारीहरूले उपराष्ट्रपति सुआनलाई बिदाइ गरेका थिए ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहायप्रसाद यादव र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । उपराष्ट्रपति यादवसँग उनले प्रतिनिधिमण्डलस्तरीय वार्तासमेत गरेकी थिइन् ।

भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पनि परेकोले सुआनको भ्रमणलाई दुवै मुलुकले विशेष महत्त्वका साथ हेरेका छन् ।