ललितपुर—भोजपुर जिल्ला, टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी लुना लुइँटेल यस वर्षको मिस नेपाल वर्ल्ड २०२५ बनेकी छन्।
शनिबार राति ललितपुरको गोदावरीमा हिडन ट्रेजर ले आयोजना गरेको ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधि जितेकी हुन्। आफ्नो आत्मविश्वास, बौद्धिक क्षमता र प्रस्तुतिमार्फत निर्णायकलाई प्रभावित पार्दै लुनाले ताज आफ्नो नाममा दर्ता गर्न सफल भएकी हुन्।
लुनाको परिवारले उनको यो उपलब्धिलाई भोजपुर मात्र होइन, सम्पूर्ण नेपालकै गर्वको विषय भएको बताएका छन्। उनी राष्ट्र बैंकका पूर्व निर्देशक एजिन्द्र लुइँटेलकी छोरी हुन् र टेम्केमैयुङ–९ लेखर्ककै पुरानो बासिन्दा परिवारबाट आएकी हुन्।
प्रतियोगितामा उनले सामाजिक उत्तरदायित्व, नारी सशक्तीकरण र नेपाली पहिचानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। मिस नेपाल वर्ल्डको उपाधि जितेसँगै उनी अब आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।




















