जेफाले— मोरङको केराबारी गाउँपालिका–२ फाईबाका बासिन्दा दशकौँदेखि भालुखोलाको मुहान प्रयोग गर्दै आएका छन् । तर सोही मुहानलाई धनकुटाको चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने दाबी गर्दै नयाँ आयोजना अघि बढाएपछि गाउँ नै उजाड हुने खतरा देखिएको छ ।
सन् १९९३ (वि.सं. २०५०) देखि फाईबाबासीले पाइपमार्फत भालुखोलाको पानी प्रयोग गर्दै आएका थिए । संघीय र प्रदेश सरकारको ‘एक घर–एक धारा’ योजनामार्फत करिब दुई सय घरधुरीलाई धारा पुगेपछि स्थानीय जीवन सहज बनेको थियो । तर चौबिसे गाउँपालिकाले ५ करोड रूपैयाँमा लिफ्टिङमार्फत पानी लैजाने योजना अघि बढाएपछि विवाद चर्किएको हो ।
सिंहदेवी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष देवीलाल लिम्बूले भने, “फाईबाबासीले वर्षौदेखि प्रयोग गर्दै आएको मुहान सुकाएर अन्यत्र लैजाँदा गाउँले बसाइँसराईमा पर्छन् । सरकारको बजेटले उल्टै विवाद बढाएको छ ।”
विवाद अदालतसम्म पुगेको छ । उच्च अदालतले यसअघि अन्तरिम आदेशमार्फत आयोजना रोक्न निर्देशन दिए पनि पुनः ठेक्का प्रक्रिया अघि बढेपछि तनाव पुनः तीव्र बनेको छ । चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भने, “मूहान हाम्रो गाउँपालिका भित्रै पर्छ, यहाँका ४ सय घरधुरीलाई लाभ पुग्ने भएकाले आयोजना अघि बढाउनैपर्छ,” भन्ने अडान दोहोर्याए ।
\सिमाना र अधिकारको विवादसँगै अहिले फाईबाबासीको अस्तित्वमै संकट खडा भएको छ । दशकौँदेखि सहज जीवन बिताउँदै आएका गाउँलेहरू मुहान सुक्ने हो भने गाउँ उजाड हुने चिन्ता थप गहिरिएको छ ।




















