ब्रासिलिया — ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो २०२२ को चुनाव हारेपछि सत्ता कब्जा गर्न कूको षड्यन्त्र रचेको आरोपमा दोषी ठहरिएका छन्। सर्वोच्च अदालतले बिहीबार दिएको ऐतिहासिक फैसलामा उनलाई २७ वर्ष ३ महिनाको जेल सजाय सुनाएको छ।
यो फैसला बोल्सोनारोले सिर्जना गरेको पपुलिस्ट आन्दोलनका लागि ठूलो धक्का मानिएको छ। पाँच न्यायाधीशको संयुक्त इजलासले ४–१ को बहुमतमा फैसला सुनाएको हो। यससँगै बोल्सोनारो ब्राजिलको इतिहासमा लोकतन्त्रमाथि आक्रमणको आरोपमा दोषी ठहरिने पहिलो पूर्व राष्ट्रपति बनेका छन्।
अभियोजकहरूले उनको कृत्यलाई ‘सबैभन्दा गम्भीर अवज्ञा’का रूपमा वर्णन गरेका छन्। भाग्ने आशंकामा उनलाई घरमै नजरबन्दमा राखिएको थियो। अन्तिम सुनुवाइमा उपस्थित नभएका बोल्सोनारोले यो फैसला आफूलाई २०२६ को राष्ट्रपति चुनावमा भाग लिनबाट रोक्न गरिएको राजनीतिक कदम भएको दाबी गर्दै आएका छन्।



















