सुनसरी — धरानस्थित भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार मृतकहरू सबै चोरी र आगजनीका लागि भित्र पसेका थिए। आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेका हुनसक्ने प्रहरीको अनुमान छ।
तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको थियो। शवहरू जलेर अस्तु मात्र रहेको र पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। ‘प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर अस्तु नियन्त्रणमा लिएको छ,’ प्रहरी निरीक्षक कुँवरले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको र आगजनी तथा लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान तथा निगरानी बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार आगजनीले करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको र लाखौं बराबर चोरी भएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धानलाई तीव्रता दिएको छ। घटनामा ‘जेनजी’ नाममा घुसपैठ हुँदा आगजनी र लुटपाटलाई बढावा दिएको आशंका गरिएको छ।




















