काठमाडौं—अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। मन्त्री बन्ने सम्भावित नामहरूबारे विभिन्न अड्कलबाजी भइरहेका भए पनि अन्तिम टुंगो लागिसकेको छैन। हालका लागि सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीकै काँधमा छ।
गएराति राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा कार्कीलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराएका थिए। शपथपछि राष्ट्रपतिले उनलाई सफल कार्यकालको शुभकामना दिएका थिए। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकारी र कूटनीतिज्ञहरू सहभागी थिए।
यसअघि शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री र निवर्तमान प्रधानमन्त्रीहरू पनि उपस्थित हुने चलन थियो। निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा औपचारिक रूपमा पद हस्तान्तरण गर्ने परम्परा रहँदै आएको थियो। तर यसपटक त्यो परम्परा पालना भएन।
शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरूमध्ये डा. बाबुराम भट्टराई मात्र उपस्थित थिए। प्रमुख राजनीतिक दलका नेताहरू अनुपस्थित रहे। रास्वपा नेतृ सुमना श्रेष्ठ भने समारोहमा सहभागी भएकी थिइन्।




















