काठमाडौं — नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने र पार्टीलाई युवा मैत्री बनाउन संरचनागत सुधार गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत १२ मिनेट २० सेकेन्ड लामो भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भदौ २३ र २४ गतेका घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे। उनले नेपाल पुनः संक्रमणकालमा प्रवेश गरेको उल्लेख गर्दै संसद् विघटन समाधानको सही बाटो नभएको जिकिर गरे।

“जेन–जीका मागलाई संवैधानिक प्रक्रियाबाट, संसद्बाटै सम्बोधन गर्न सकिन्थ्यो। राष्ट्रपति द्वारा नियुक्त वर्तमान प्रधानमन्त्रीलाई संसद्बाटै प्रधानमन्त्री बनाउन सकिन्थ्यो, तर त्यो बाटो अवलम्बन गरिएन। संसद् विघटन सही निकास होइन,” भट्टराईले भने।

उनले संविधानको पालना नगर्दा यसको खारेजीको जोखिम रहने र नयाँ संविधान बनाउन सहज नहुने तर्क गरे। “संविधान र लोकतन्त्रलाई पुनः लिकमा फर्काउन धैर्यपूर्वक अघि बढ्नुको विकल्प छैन। प्रधानमन्त्री र राष्ट्रपतिका हरेक कदम संवैधानिक होऊन् भन्ने हाम्रो माग छ,” उनले स्पष्ट पारे।

भ्रष्टाचार, कुशासन र बेथितीको अन्त्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले एमालेले भौतिक संरचना निर्माणमा उपलब्धि हासिल गरे पनि भ्रष्टाचार नियन्त्रणमा अपेक्षित सफलता प्राप्त गर्न नसकेको स्वीकार गरे। “जनताको आवाज, विशेषगरी युवा पुस्ताको आवाजलाई सम्बोधन गर्नमा हामी कतै चुकेका छौँ। ती कमजोरीका लागि हामी जनतासँग माफी माग्छौँ,” उनले भने।

भट्टराईले युवालाई पार्टीको मेरुदण्डको रूपमा व्याख्या गर्दै पार्टीलाई गतिशील, जनमुखी र प्रगतिशील बनाउन संरचनागत सुधार गर्ने बताए। “हाम्रो पार्टीमा जेन्जी पुस्ता किन आइरहेको छैन भन्ने गम्भीर समीक्षा हुनेछ। आगामी दिनमा पार्टीको नीति र नेतृत्वलाई युवा मैत्री बनाइनेछ,” उनले जोड दिए।

संकटको बेला पार्टी छोड्ने प्रवृत्ति गलत भएको बताउँदै उनले एमाले छाडेर गएका कार्यकर्ताहरूलाई पुनः पार्टीमा फर्कन आह्वान गरे। समाज र हरेक व्यक्तिको रूपान्तरण आजको आवश्यकता भएको भन्दै उनले सबैलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरे।