काठमाडौं—नेपालमा राजनीतिक परिवर्तन हुनु अघि केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा गरेका खासखास कामहरुलाई सबैले नियाल्न थालेका छन् ।
परिवर्तनको साता अगाडि ओली चीनमा थिए । साम्राज्यवादको अन्त्य र चीनमा जापानको आक्रमणपछि चीनको विजयको उपलक्ष्यमा वर्षेनी बेइजिङमा समारोह आयोजना गरिन्छ । सो समारोहमा नेपालका तर्फबाट ओलीलाई पनि निम्त्याइएको थियो । विश्वको ध्यान सो समारोहमा थियो । त्यहाँ केपी ओलीको उपस्थितिलाई अर्थपूर्ण मानिएको थियो ।
सो समारोहमा सहभागी हुँदा जापान रिसाउँछ भनेर नेपालमा व्यापक प्रचार गरिएको थियो । ओली चीनबाट फर्किए लगत्तै नेपालमा हठात राजनीतिक परिवर्तन भयो ।
केपी ओलीको चीन भ्रमणको उद्देश्य त्यो कार्यक्रम मात्र थिएन । विश्व मञ्चका रुपमा विकास हुँदै गएको सांघाई कोओपरेसन अर्गनाइजेसनको समिटमा पनि ओलीको सहभागिता थियो । ओलीले समारोहमा बहुपक्षीय विश्वको वकालत गर्नुभएको थियो । विश्व व्यवस्थामा साना देशहरुको न्यायको पक्षमा आवाज उठाउनुभएको थियो । ओलीको आँटिलो र प्रभावशाली विचारको विश्व नेताहरुले प्रशंसा गरेका थिए ।
चीन जाँदा ओलीले त्यहाँका राष्ट्रपति सी चिन फिङसँग वार्ता गर्नुभयो । लिपुलेकमा भारत र चीनले गरेको सहमतिको ठाडो विरोध गर्नुभयो । चीन गएर सीसँग ओलीले यो कुरा उठाउने आँट गर्नुहोला भन्ने नेपालमा धेरैले ठानेका थिएनन् । ओलीले सी समक्ष अडान राखेपछि नेपालमा ओलीले गल्ती गरे भन्दै एकथरीले प्रचार गरेका थिए ।
ओलीको भारत भ्रमणमा जाने योजना थियो । भारत भ्रमणमा गएको बेला पनि लिपुलेक नेपालको हो भनेर दह्रो अडान राख्ने घोषणा थिए । तर, भारत गएर लिपुलेकमा नेपालको अडान राख्नु अगाडि नै ओलीलाई पदच्यूत गरियो ।
ओली नेपाल फर्किएपछि अर्को विष्मयकारी खुलासा भयो । नेपालले चुच्चे नक्सा संयुक्त राष्ट्रसंघमा दर्ता गरिसकेको रहेछ । ओलीले त्यो काम गरिसकेका रहेछन। यो खुलासाले ठूलो भूराजनीतिक तरंग ल्यायो । ओलीको कामको डायरीमा यो प्रकरणले ठूलो महत्व राख्छ ।
ओलीको कामको डायरीमा राष्ट्रिय हित, नेपालको सार्वभौमिकता, नेपालको स्वाभिमान जस्ता शब्द निरन्तर दर्ता भए । ओलीको मुखबाट देश आकारमा सानो र ठूलो हुँदैमा सार्वभौमिकता सानो र ठूलो हुँदैन भन्ने वाक्य निरन्तर निस्कियो ।
अन्ततः केपी ओलीलाई सत्ताच्यूत गरियो । सत्ताच्यूत गरिएका ओलीको कामका डायरीमा दर्ज भएका यस्ता कामहरुलाई सबैले नियाल्न सुरु गरेका छन् ।
-सनराइज खबरबाट


















