काठमाडौं — जेन–जी पुस्ताको आन्दोलनको दबाबपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१(४) अनुसार शुक्रबार उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त प्रधानमन्त्री कार्कीको नेतृत्वलाई नागरिकले मुलुकको राजनीतिक संकटबाट निकास दिने सकारात्मक विकल्पको रूपमा लिएका छन्।
युवा नेता अमृत चापागाईंले विगत एक दशकदेखि सत्तामा रहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु विजय भएको बताए। उनले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्नेमा जोड दिए।
वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान र देशप्रेम भएका व्यक्तिलाई नेतृत्वमा ल्याउनु सकारात्मक सन्देश भएको प्रतिक्रिया दिए। “अहिलेको परिस्थितिमा यो भन्दा उत्तम विकल्प अरु थिएन। तर अब आउने चुनौतीसँग जुध्न प्रधानमन्त्री कार्की तयार हुनुपर्छ,” उनले भने।
त्यसैगरी, युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक अवस्थामाथि अनुभवी नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै, नयाँ नेतृत्वबाट मुलुकलाई समृद्ध बनाउने दिशा लिने अपेक्षा व्यक्त गरे। उनले युवाहरूको पलायन रोक्नका लागि आगामी मध्यावधि निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
राष्ट्रपतिको सिफारिसमा कार्की प्रधानमन्त्री नियुक्त भएपछि संसद् विघटन गरिएको छ र आगामी फागुन २१ गते नयाँ प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ।




















