काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब राजनीतिबाट बिदा लिन आग्रह गरेका छन्।
शनिबार जेन–जी आन्दोलनको प्रदर्शनपछि सार्वजनिक गरिएको भिडियो सन्देशमा शर्मा भन्छन्, “तीन नेताले सत्ता छाड्ने दिन पर्खिनुपर्दा नागरिक तहमा असन्तुष्टि बढेको छ। मैले पार्टीमा कुरा राखेको थिएँ, तर निर्णय गराउन सकिनँ। अब फेरि चुनाव हुन्छ, नयाँ सरकार बन्छ, प्रधानमन्त्री उनीहरू नै। यसैले पर्खिनुको सट्टा यसलाई प्रणालीमा ल्याउनुपर्छ, विधिमा ल्याउनुपर्छ, ताकि भविष्यमा कुनै नयाँ पुस्ताले नेतृत्व गर्दा ‘छाडिदिनुस्’ भन्न नपरोस्।”
शर्माले आफ्नो प्रस्तावमा राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी पदमा नियुक्त नहुने व्यवस्था गर्नुपर्ने सुझाव दिए। उनले पार्टीभित्र आत्मसमीक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।




















