काठमाडौँ—सिरहा-हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बस्नुभएको छ। छेउमै जलेश्वरीदेवी (विजयकी आमा) उसैगरी टोलाइरहनुभएको छ । शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ। उहाँको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी पुस्ता’ आन्दोलनमा गत मङ्गलबार संसार छाडिसकेका छन् ।
मन बेचैनीले भरिएको छ । अनुहारमा एकैचोटी अनेकन कुरा खेलिरहेको प्रष्ट देखिन्छ । आशा, डर अनि थोरै शङ्का । गाउँमा विजयबारे आएको खबर आधामात्र हो । “गोली लागेको रे, तर उपचार भइरहेको छ”, नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही सम्हालिएको थियो । तर विजयको फोन, म्यासेज या कुनै खबर आउन छाडेको पनि कयौँ भइसकेको छ ।
घरको आँगन चिसो लाग्न थालेको छ । तर आमाबुबाको मन अझै तातो छ, छोरो आउने आशामा । भाइको मृत्युको खबर सुनेपछि हेटौँडामा बस्दै आउनुभएकी विजयकी दिदी काठमाडौँ पुगेर आमालाई फोनमा सत्य लुकाएर ढाडस दिइरहनुभएको छ । “भाइलाई आइसीयूमा राखिएको छ आमा, बोल्न सक्ने अवस्थामा हुनुहुन्न । होसमा आएपछि खबर गर्छु ।”
सत्ताइस वर्षीय विजय चौधरी, लहान–१५ सिमलटोलका बासिन्दा हुन् । ग।त मङ्गलबार काठमाडौँको बानेश्वरमा ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । त्यही ठाउँमा ढले । साथीले उनलाई तत्काल सिभिल अस्पताल लगे, तर त्यसबेला विजयको प्राण गइसकेको थियो । घटनाको पुष्टि हुँदै जाँदा, विजयको शव शिक्षण अस्पतालको शवगृहमा पुगिसकेको थियो । यता गाउँमा चाहिँ सत्य लुकाइएको थियो ।




















