काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक तथा संरक्षक रेशम चौधरीले आज आइतबार सामाजिक सञ्जालमार्फत आफूले नाउपा छाडेको घोषणा गरेका छन्। सोसँगै उनले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ गठनको घोषणा गरेका छन्।
टीकापुर नरसंहार घटनापछि डिल्लीबजार कारागारमा रहँदै चौधरीले नाउपा गठन गरेका थिए। सो पार्टीमा उनी संरक्षकको भूमिकामा थिए भने अध्यक्षमा उनकी पत्नी रञ्जिता श्रेष्ठ रहेका थिए। कानुनी अड्चनका कारण चौधरीले पार्टीको औपचारिक नेतृत्व गर्न नसके पनि रञ्जिताको अध्यक्षतामा निर्वाचन आयोगमा दल दर्ता गरिएको थियो।
नाउपा गठनपछि प्रतिनिधिसभा निर्वाचनमा चार सिट जित्दै सो पार्टी राष्ट्रिय दलका रूपमा उदाएको थियो। तर पछिल्ला दिनमा चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच राजनीतिक र रणनीतिक विषयमा विवाद बढ्दै गएपछि पार्टी दुई धारमा विभाजित भएको थियो।
पार्टी छाड्दै चौधरीले लेखेका छन्,
“धेरै विवाद भयो, विचार स्थापित भएनन्। केन्द्रीय समिति पूर्ण रूपमा कहिल्यै बस्दैनथ्यो। हामीले जेनजी आन्दोलनलाई आंशिक समर्थन गरेका थियौँ, तर शान्तिपूर्ण राजीनामा दिएर अर्को दिन संसद् स्थापनाको निर्णय गराइयो। यसरी भन्दा इमानदारीपूर्वक टाढै बस्नु जाति ठानें।”
चौधरीले आफैं स्थापना गरेको पार्टी छोड्दा आफूलाई गहिरो पीडा भएको बताएका छन्। उनका शब्दमा,
“जसलाई २१ जनाबाट स्थापना गरेँ, उनीहरूकै हातबाट लात्ती खानु पर्यो। कसैले भुत्ल्यायो, कसैले लुछ्यो। त्यसकारण रहिरहन उचित लागेन।”
नयाँ पार्टीबारे उनले जानकारी दिँदै भनेका छन्,
“अहिलेलाई करिब ७ जना डाक्टर, १२–१५ जना इन्जिनियर, त्यत्तिकै संख्यामा कानुनविद्, नाउपाका जनप्रतिनिधि र संस्थापक केन्द्रीय सदस्यहरू हाम्रो साथमा छन्।”




















