काठमाडौँ — काठमाडौं र धरानका भाटभटेनी स्टोरमा भेटिएका १० जनाको कंकाल आफ्नो कर्मचारीको नभएको भाटभटेनी सुपरमार्केटले स्पष्ट पारेको छ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देशभरका भाटभटेनीमा आक्रमण हुँदा काठमाडौंको चुच्चेपाटीमा ६ र धरानमा ४ जनाको जलेको अवस्थामा शव फेला परेको थियो। शवहरू चिन्न सकिने अवस्थामा छैनन् र कतिपयमा कंकाल मात्रै भेटिएको प्रहरीले जनाएको छ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत  पनुदत्त पौडेलले आइतबार लोकपथसँगको कुराकानीमा कम्पनीका सबै कर्मचारीहरू सुरक्षित रहेको दाबी गरे।

‘हालसम्मको जानकारीमा हाम्रा सबै कर्मचारीहरू सुरक्षित छन्। कोही हराएको छैन भन्ने परिवारतर्फबाट पनि पुष्टि भएको छ,’ पौडेलले भने, ‘त्यसैले भग्नावशेषमा फेला परेका कंकाल हाम्रा कर्मचारी होइनन् भन्नेमा हामी स्पष्ट छौँ।’

तर ती मृत्यु हुनेहरू को हुन् भन्ने प्रश्नमा पौडेलले अनभिज्ञता जनाउँदै, ‘जसको मृत्यु भए पनि त्यो दुखद हो,’ भनेका छन्।