काठमाडौँ — नेपाल इन्जिनियर्स एसोसिएसनले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाको मूल्यांकन र पुनर्निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ।

एसोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार विज्ञप्ति जारी गर्दै देशभरका क्षतिग्रस्त संरचनाको क्षतिको मूल्यांकन, जोखिम विश्लेषण र पुनर्निर्माणको योजना बनाउन प्राविधिक सहयोग पुर्‍याइने जानकारी दिएका छन्।

‘वि.सं. १९९० र २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा नेपाली प्राविधिक जनशक्तिको योगदान ऐतिहासिक रह्यो। हामीले त्यही अनुभवलाई निरन्तरता दिँदै अहिलेका क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा सहयोग गर्नेछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र नेपाल बार एसोसिएसनको भवनको प्रारम्भिक निरीक्षण गरी मूल्यांकन कार्य सुरु भइसकेको छ। उनले क्षतिग्रस्त संरचनाको तत्काल अवलोकन, जोखिम मूल्यांकन, प्रयोगयोग्यता परीक्षण, वैकल्पिक व्यवस्थापन र पुनःनिर्माणको सम्भाव्यता अध्ययन गरिने बताए।

बरालले सम्पूर्ण इन्जिनियरलाई उक्त अभियानमा सहभागी भई प्राविधिक सहयोग गर्न आह्वान समेत गरेका छन्।