काठमाडौं — सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले जेनजी आन्दोलनपश्चात भागेका कैदीहरूले न्यायाधीशहरूलाई धम्की दिइरहेको बताएकी छिन्।

सोमबार काठमाडौं जिल्ला अदालतको क्षतिग्रस्त भवन अवलोकनपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मल्लले कैदीहरू बाहिर भएकाले न्यायाधीशहरूको सुरक्षामा खतरा बढेको बताइन्। आइतबार देशभरका न्यायाधीशसँग भएको भर्चुअल बैठकमा धेरै न्यायाधीशहरूले आफूमाथि धम्की आएको जानकारी दिएको पनि उनले खुलाइन्।

मल्लले भनिन्,

“अहिले त कैदी नै बाहिर छन्। कैदीले अदालत जलाउने काम गरे अनि अहिले न्यायाधीशहरूलाई धम्की समेत आइराखेको स्थिति छ। नयाँ सरकार आएको छ, सुरक्षाको व्यवस्थामा हामी विश्वस्त छौँ कि सरकारले त्यसको व्यवस्था पक्कै गर्नेछ।”

उनले न्यायपालिकाको वास्तविक सुरक्षा जनताबाट आउने विश्वास व्यक्त गर्दै भनिन्,

“न्यायपालिकाको सुरक्षा भनेको जनता नै हो। जब जनताले न्यायको आवश्यकता बुझ्छन्, त्यतिबेला हामी सुरक्षित महसुस गर्छौँ। अदालत जनताको सम्पत्ति हो, यसको रक्षा जनताले नै गर्नुपर्छ।”

मल्लले काठमाडौं जिल्ला अदालतसहित देशभरका १७–१८ वटा अदालत ध्वस्त भएको जनाउँदै भौतिक संरचनाबाट सेवा सञ्चालन चुनौतीपूर्ण भए पनि छिट्टै पूर्ण क्षमतामा सेवा दिने प्रतिबद्धता जनाइन्।

उनले भनिन्,

“भौतिक संरचना, मिसिल, कम्प्युटर धेरै ध्वस्त भएका छन्। तर न्यायपालिका जीवित छ। न्यायाधीश र कर्मचारीहरू प्रतिबद्ध छन्। घरघरबाट आएर जलेका मिसिलहरूलाई बचाउन प्रयास भइरहेको छ र हामी छिट्टै पूर्ण क्षमतामा सञ्चालन गरेर देखाउँछौँ।”

मल्लका अनुसार तत्काल आवश्यक पर्ने बन्दी प्रत्यक्षीकरण र रिट दर्ता लगायतका न्यायिक सेवा पुनः सुचारु भइसकेका छन्।