काठमाडौं — भारतको हिमाञ्जल प्रदेशस्थित सिमला जिल्लाको कोटखाई नजिक भएको सडक दुर्घटनामा चार नेपालीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

मृतकहरूमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। तीमध्ये तीन जना एउटै परिवारका सदस्य रहेको खुलाइएको छ।

दुर्घटनामा घाइते नवराज शाही र हिमबहादुर शाहीलाई प्रारम्भिक उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार पिकअप जिप चालकले नियन्त्रण गुमाउँदा सवारी भीरमा खसेको थियो। गम्भीर घाइते लक्ष्मी शाहीको अस्पतालमै मृत्यु भएको हो भने डिल्लीबहादुर शाहीलाई इन्दिरा गान्धी मेडिकल कलेज पठाइए पनि बचाउन सकिएन।

सिमला प्रहरीका अनुसार घटनापछि भारतीय न्याय संहिता (धारा १०६) अन्तर्गत ‘लापरबाहीका कारण मृत्यु’ मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको र मृतकका परिवारलाई जानकारी गराइएको सिमला प्रहरी उपरीक्षक सिद्धार्थ शर्माले बताएका छन्।

यसबीच, हिमाञ्जल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने र राज्य सरकार पीडितसँग रहने प्रतिवद्धता जनाएका छन्।