काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन निर्देशन दिएका छन्। उनले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन्।
निरीक्षणको क्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले ट्राफिक व्यवस्थापन र कार्यालयको पछिल्लो अवस्थाबारे गृहमन्त्रीलाई जानकारी गराए।
सो अवसरमा गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका लागि आवश्यक भवन निर्माण र पूर्वाधार विकासमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भदौ २३ र २४ गतेको ‘जेनजी पुस्ता’ आन्दोलनका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका भवन, पोसाक र विभिन्न उपकरण जलेर नष्ट भएका थिए।




















