काठमाडौं — नेकपा (माओवादी केन्द्र) का विद्यार्थी नेता रविकिरण यादवले पार्टी परित्यागको घोषणा गरेका छन्।

हालै आन्तरिक कलहका कारण निष्क्रिय रहेका यादवले आज सामाजिक सञ्जालमार्फत पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको जानकारी दिएका हुन्।

यादव माओवादी नेता मातृका यादवका छोरा हुन्। उनी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का पूर्व उपाध्यक्ष र हाल उपत्यका विशेष प्रदेश सदस्य थिए।

फेसबुकमा आफ्नो निर्णय सार्वजनिक गर्दै उनले लेखेका छन्,

“युवा हुनुको औचित्य मात्र पनि स्थापित गर्न र नैतिकताको आधारमा पनि आजको मितिबाट नेकपा (माओवादी केन्द्र) को साधारण सदस्य समेत नरहने घोषणा गर्दछु।”

देश ‘रोइरहेको’ दाबी गर्दै उनले थपे,

“हिजोको आन्दोलनले मलाई निदाउन दिएको छैन। अझ क्रान्तिकारी भनिएको पार्टीको औपचारिक र अनौपचारिक निर्णयहरूले आन्दोलनलाई डाउनप्ले गर्न खोजेको अनुभव गरेको छु। एमाले र कांग्रेस मात्र होइन, प्रतिपक्षी भएर पनि प्रतिपक्षको भूमिकामा बस्न गाह्रो मानेको पार्टीमा युवाको नाताले आबद्ध रहन उपयुक्त ठानिनँ।”