चितवन — नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको बसमा पहराबाट खसेको ढुङ्गा लाग्दा एक यात्रुको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बस मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुल नजिक पुगेका बेला माथिबाट खसेको ढुङ्गा बसमा सिधै खसेको थियो।
सो घटनामा लमजुङको घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।




















