काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पार्टीको वर्तमान अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र आत्मसमीक्षा र नवनिर्माणको आवश्यकता रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै डा. शर्माले पार्टी नेतृत्वप्रति आक्रोश पोखे। उनले नीति–निर्णयमा असफलता, गुटबन्दी, भ्रष्टाचार र सेवा प्रवाहमा देखिएको असमानतामाथि प्रश्न उठाउँदै भने, “पार्टीको अपजसको दोष केवल सभापतिलाई थोपार्नु न्यायोचित हुँदैन, हामी सबै यसको हिस्सेदार हौं।”

उनले नेपाली कांग्रेसको गौरवशाली इतिहास आज लाजमर्दो अवस्थामा पुगेको बताउँदै बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको योगदान स्मरण गरे। “आजको कांग्रेस त्यस्तो गौरवको प्रतिरूप छैन,” उनले भने।

डा. शर्माले आम नागरिकको कठिन अवस्था चित्रण गर्दै भने, “नागरिक दुई छाक खानाको खोजीमा छन्, बालबालिका खोलामा बगिरहेका छन् तर नेताहरू भोजभतेर र गाडीको लस्करमा रमाइरहेका छन्।”

पार्टी कार्यक्रम, खर्च, मदिरा–मासुको तामझाम र गुटगत गतिविधिको अपारदर्शिता प्रति उनले गम्भीर प्रश्न उठाए। साथै, आर्थिक अनियमितता र नेतृत्वको मौनतालाई नैतिक पतनको लक्षण बताए।

शिक्षा क्षेत्रमा भएको सिन्डिकेट, निजी विद्यालय तथा नर्सिङ कलेज बन्द गर्ने प्रयास, गैरआवासीय नेपालीहरूमाथिको ‘अनागरिक’ व्यवहार र मौलिक पहिचान खोसिएको घटनालाई उनले लाजमर्दो भनेका छन्।

संसदभित्र जनताको आक्रोश प्रवेश गरेको अवस्था लोकतन्त्रको मृत्युको संकेत भएको चेतावनी दिँदै डा. शर्माले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, स्वतन्त्र न्यायपालिका, भ्रष्ट न्यायाधीशको बर्खास्ती र कार्यकारीमा दुई कार्यकालको सीमा लागू गर्न आग्रह गरे।

“यदि आत्मसमीक्षा गरेर कांग्रेस सुधारको बाटोमा लाग्यो भने मात्र अपजसको ढोका चिर्न सकिन्छ,” उनले भने। उनका अनुसार अहिलेको कार्यकारी नेतृत्वले पदको मोह त्यागेर नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने समय आएको छ।

डा. शर्माले सांसद पदमा रहँदा तलब–भत्ता नलिएको र देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको उल्लेख गर्दै आफूले जनताप्रतिको प्रतिबद्धता व्यवहारमै देखाउँदै आएको बताए। उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् र सात स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्।