सिन्धुली — भ्रष्टाचारविरुद्ध भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिन्धुलीका तीन जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन्।

मृतकमध्ये एक जना सुरक्षाकर्मी र दुई जना जेनजी युवा रहेका छन्।

भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गोलन्जोर गाउँपालिका–१ का रोशन न्यौपानेको मृत्यु भएको जिल्ला प्रशासनले पुष्टि गरेको छ।

त्यसैगरी, तिनपाटन गाउँपालिका–६ का दिपेश सुनुवार प्रदर्शनपछि बेपत्ता भएका थिए। परिवार र प्रहरीको खोजतलासपछि उनलाई छातीमा गोली लागेको अवस्थामा भेटिएको र उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको पुष्टि भएको हो।

दुधौली नगरपालिका–८ का प्रहरी सहायक निरीक्षक मिलन राय आन्दोलनकै क्रममा प्रदर्शनकारीको कुटपिटबाट गम्भीर घाइते भई ज्यान गुमाएका छन्। राय अपराध अनुसन्धान शाखामा कार्यरत थिए।

आन्दोलनमा गोलन्जोर गाउँपालिका–३ का नवीन तामाङ, गोलन्जोर–१ का तिलक मगर र सिन्धुलीका मदन कार्की घाइते भएका छन्।

यससँगै देशभर जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।