काठमाडौं – पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेनजी आन्दोलनका मागहरू समयमै सम्बोधन नगरी तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भका कारण अहिलेको परिस्थिति आएको बताएका छन्।

बुधबार जारी विज्ञप्तिमा उनले आन्दोलनपूर्व नै पार्टीले जेनजी मागहरूलाई समर्थन र ऐक्यबद्धता जनाएको स्मरण गर्दै भनेका छन्, “जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूको दम्भ र अहंकारका कारण दर्जनौँ होनहार युवाले शहादत प्राप्त गर्नुपर्‍यो र मुलुकले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो।”

नेपालले आन्दोलनलाई लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि जनतामा बढेको निराशा र आक्रोशको परिणामका रूपमा व्याख्या गर्दै भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन र नेताहरूको जीवनशैलीको अन्तरलाई पनि यस अवस्थाको मूल कारण बताएका छन्।

उनको भनाइमा अन्तरिम सरकार गठन भइसकेको र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै भ्रष्टाचारको अन्त्य, सुशासन र रोजगारी सिर्जना गर्नु आवश्यक छ। “मुलुकलाई आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अघि बढाएर युवालाई मुलुकमै बस्नलायक अवसर सिर्जना गर्न सके मात्र जेनजी आन्दोलनका सहिदहरूलाई साँचो श्रद्धाञ्जली हुनेछ,” विज्ञप्तिमा भनिएको छ।

May be an illustration of text