काठमाडौं – राजधानीमा अवस्थित हिल्टन होटलमा भएको आगलागी र ठूलो क्षतिपछि पत्रकार दिलभुषण पाठकमाथि कारबाहीको माग तीव्र बनेको छ। सामाजिक सञ्जालमा सार्वजनिक प्रतिक्रियाअनुसार दर्ता नै नभएको युट्युबमार्फत गलत र भ्रामक सूचना फैलाएको कारण हिल्टन होटलमाथि आक्रमण भई आगलागी भएको दाबी गरिएको छ।

चार सय करोडभन्दा बढी लगानी रहेको होटलमा आगलागी हुँदा करिब दुई सय करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणाका छोरा जयवीर देउवाको लगानी रहेको भनी मिथ्या प्रचार भएको र यसकै कारण जेन–जी आन्दोलनका बेला आक्रोशित समूहले होटलमा आगजनी गरेको बताइन्छ।

पत्रकार प्रकाश तिमिल्सिनाले सामाजिक सञ्जालमा लेखेका छन्, “हिल्टन होटल जल्नुको मुख्य दोषी दिलभुषण पाठक हो। उसको फेक युट्युब च्यानलका कारण नेपालकै ठूलो होटल ब्रान्ड एक निमेषमा ध्वस्त भयो।”

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पाठकमाथि कानुनी कारबाही र हिल्टन होटलले भोगेको क्षतिको क्षतिपूर्ति तिराउनुपर्ने माग गरेका छन्। होटलका सञ्चालकलाई अदालतमा जाने सुझाव समेत दिइएको छ।