काठमाडौं — ऊर्जा मन्त्री कुलमान घिसिङले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालसँग फोन संवाद गरी उनकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यबारे जानकारी लिएका छन्।

जेन–जी आन्दोलनका क्रममा डल्लुस्थित खनालको घरमा आगजनी हुँदा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन्। हाल उनी अस्पतालमा उपचाररत छिन् र अवस्था अझै पनि खतरामुक्त भइसकेको छैन।

आन्दोलनपछि उनको निधन भएको हल्लासमेत चलेको थियो। सो हल्ला झूटो भएको थाहा पाएपछि ऊर्जा मन्त्री घिसिङले खुशी हुँदै खनाललाई फोन गरी स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेका हुन्।

रविलक्ष्मी चित्रकार घिसिङकी पूर्वशिक्षिका समेत रहेको बुझिएको छ। कुलमान अस्कल क्याम्पसमा आइएस्सी पढ्दा उनीबाट नै पढेका थिए। यही व्यक्तिगत सम्बन्धका कारण घिसिङ विशेष रूपमा रविलक्ष्मीको स्वास्थ्य अवस्थाबारे चिन्तित बनेका थिए ।

फोन संवादका क्रममा खनालले पत्नीको स्वास्थ्य र घरमा भएको आगजनीबारे जानकारी दिएका थिए। ऊर्जा मन्त्री घिसिङले रविलक्ष्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।