काठमाडौं — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिको पुराना दलहरूको पुनर्संरचना हुने सम्भावना आफूलाई नदेखिएको बताएका छन्। उनले जेन–जी पुस्ताका युवाहरूले निरन्तर दबाब सिर्जना गरे मात्र राजनीतिक पुनर्संरचना सम्भव हुनेमा जोड दिए।
‘पुराना दलहरू कांग्रेस, एमाले, माओवादी र राप्रपाको पुनर्संरचना हुन्छ जस्तो मलाई लाग्दैन,’ भट्टराईले भने, ‘त्यहाँ जसरी आवाज उठिरहेको छ, चौथो नाती पुस्ता आइसक्यो।’
उनका अनुसार २८ वर्ष मुनिका युवाहरूले राजनीतिक क्षेत्रमा दबाब बनाइरहे मात्रै परिवर्तन सम्भव छ। ‘कहिलेकाहीँ भुँईको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले सतर्क गराउँदै आएको पनि छु,’ उनले भने।
भट्टराईले तोकिएकै मितिमा स्वतन्त्र र निष्पक्ष चुनाव गराउनुपर्नेमा पनि जोड दिए। ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो। लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदैन। निश्चित मितिमै चुनाव गर्नुपर्छ,’ उनले भने।




















