काठमाडौं—नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सुशीला कार्की नेतृत्वमा बनेको वर्तमान अन्तरिम सरकार अनागरिक सरकार भएको बताएका छन् । जनताबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारलाई अपदस्थ गरेर असंवैधानिक ढङ्गले ‘अनागरिक सरकार’ गठन भएको उनको भनाइ छ ।
जेनजी आन्दोलनकारीहरूले आगजनी गरी क्षति पुर्याएको पार्टी कार्यालयको भग्नावशेष स्थल अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अनागरिक’को संज्ञा दिए । उनले अहिले लोकतन्त्र अपदस्त गरिएको पनि बताए ।
‘अहिले लोकतन्त्रलाई अपदस्थ गरिएको छ, नागरिक सर्वोच्चताको प्रतीक संसद् हो तर संसद्लाई विघटन गरिएको छ, नागरिकहरूले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरिएको छ, संसद् विघटन गरेर अनागरिक सरकार असंवैधानिक ढङ्गले गठन गरिएको छ’, उनले भने ।
उनले नेकपा एमाले अहिले समीक्षा र ध्रुवीकरणको चरणमा रहेको समेत बताए ।




















