काठमाडौं — जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई पद छाड्न दबाब बढेको छ। पार्टीका केही पदाधिकारीस्तरका नेताहरूले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थिति मूल्यांकन गर्दै राउतलाई २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिन आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “पार्टीको समग्र हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी हस्ताक्षरकर्ता पदाधिकारीहरूले अध्यक्ष डा. सीके राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अनुरोध गर्दछौँ।”
नेतृत्व परिवर्तन भएपछि पार्टी थप सशक्त, लोकतान्त्रिक र जनउत्तरदायी बन्ने दाबी विज्ञप्तिमा गरिएको छ। साथै, जनताको अथक समर्थन र विश्वासले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिलाए पनि हालको नेतृत्वको कमजोर कार्यशैलीले पार्टीको छवि प्रभावित भएको आरोप लगाइएको छ।
जेनजी आन्दोलनपछि अन्य दलमा जस्तै जनमत पार्टीभित्र पनि नेतृत्वमाथि प्रश्न उठ्न थालेको र नयाँ नेतृत्वको माग चर्किएको बताइन्छ।





















