काठमाडौँ — काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षति, तोडफोड र आगजनीबारे सत्यतथ्य पत्ता लगाउन निष्पक्ष छानबिन गर्न आवश्यक रहेको बताएकी छन्।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै उपप्रमुख डंगोलले आन्दोलन केवल आक्रोश नभई परिवर्तनको माग भएको उल्लेख गरिन्। उनले भनिन्, “जेन–जी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरुद्ध सुशासन र समृद्धिको आन्दोलन केवल आक्रोश होइन, यो परिवर्तनको माग हो। आन्दोलनको क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडबारे निष्पक्ष छानबिन हुनुपर्छ।”
उपप्रमुख डंगोलले सहिदको बलिदानलाई बिर्सन नसकिने बताउँदै भनिन्, “सहिदको रगतले लेखिएको इतिहासलाई हामीले बिर्सन सक्दैनौँ। बलिदान खेर नजाओस्। बिग्रेकोलाई बनाउने, बनेकोलाई मजबुत बनाउने हाम्रो जिम्मेवारी हो।”
उनले ज्यान गुमाएका परिवारका पीडा र आँसुहरूको मूल्य चुकाउन जो कोही दोषी भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन्। “राष्ट्र शोकमा डुबेको छ। असंख्य परिवारले आफ्ना सन्तान गुमाइसकेका छन्। शोकमा रहेका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। दोषी जो भए पनि कानुनी कारबाही हुनैपर्छ,” उनले लेखिन्।
उपप्रमुख डंगोलले दलहरूलाई पनि विगतका कमजोरी सुधार्दै जवाफदेही र पारदर्शी राजनीति गर्न आग्रह गरिन्। “अबको राजनीति ढाकछोप र बहानामा होइन, जवाफदेही र पारदर्शितामा आधारित हुनुपर्छ। दलहरूले आफ्ना कमजोरी सुधार्दै अघि बढ्नुको विकल्प छैन,” उनले भनिन्।




















