काठमाडौं – गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले देशभरका प्रहरी युनिटका अधिकृतलाई उच्च मनोबलका साथ सेवामा तल्लीन हुन निर्देशन दिएका छन्।
जेनजी आन्दोलनपछि क्षतिग्रस्त काठमाडौंका केही प्रहरी कार्यालयको निरीक्षण गरेका मन्त्री अर्याल बिहीबार बिहान नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेका थिए। उनले नयाँ परिवर्तनलाई आत्मसात् गर्दै प्रहरी कर्मचारीहरू कर्तव्यनिष्ठ भएर ड्युटीमा खटिने विश्वास व्यक्त गरे।
मन्त्री अर्यालले भने, “तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ। यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ।”
आफू शाकाहारी र स्वभावतः अहिंसावादी भएको बताउँदै उनले प्रहरीलाई पनि अहिंसावादी शैलीमै जिम्मेवारी पूरा गर्न निर्देशन दिए।
गृहमन्त्रीको ब्रिफिङमा देशभरका प्रहरी कार्यालय प्रमुखहरूलाई भर्चुअल माध्यमबाट जोडिएको थियो। प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार प्रहरीका क्षतिग्रस्त भवनहरूको निरीक्षणपछि मन्त्री अर्याल प्रधान कार्यालय पुगेका हुन्।




















