विराटचोक - मोरङको बेलबारीमा बुधबार बिहानका राति एक जना वृद्ध पुरुषले श्रीमतीको बीभत्स हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्  ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएका थिए । डीएसपी दाहालका अनुसार बिहान १ः४० बजेतिर दाउले प्रहार गरेर बमबहादुरले श्रीमतीको हत्या गरेका थिए ।  दाउ प्रहारबाट गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यापछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर दाहाल नेतृत्वको टोलीले घाँटी रेटेर गम्भीर घाइते अवस्थामा बमबहादुरलाई फेला पारेको थियो । दाहाल नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि पठाइएका उनलाई विराटनगरको नोबेल अस्पताल ल्याइपुर्याउनसाथ बिहान ३ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए ।

गीताको शवलाई सुरक्षा दिएर प्रहरीले घटनास्थलमै राखेको र आफन्त आइपुगेपछि  पोस्टमार्टमाका लागि पठाइने प्रहरीले जनाएको छ । बमबहादुरको शव भने पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा पुर्याइएको छ ।

 बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको र उनीहरुका ८ वर्षीय छोरा रहेको खुलेको  छ । श्रीमान–श्रीमतीबीच के विषयमा विवाद भएको थियो भन्ने यकिन भइसकेको छैन । इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । घटनास्थल ईप्रका बेलबारी बाट करिब एक किलोमीटर  उत्तरमा पर्छ ।