धनकुटा—संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा नेकपा एमाले धनकुटाले आज भव्य जनप्रदर्शन गर्दै कोणसभा आयोजना गरेको छ।
एमालेले मदनचोकबाट सुरु गरेको र्याली भीमनारायण चोक, बिहिबारे हटिया, टुँडिखेल हुँदै पुनः मदनचोकमा आएर कोणसभामा परिणत भएको थियो। सहभागीहरूले ‘नेपालको संविधान २०७२ को रक्षा गरौँ’, ‘प्रतिगामी तत्त्व होसियार’ जस्ता नारासहित मौन र्याली गरेका थिए।
कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र राईले हालैका आन्दोलनका क्रममा देशले भोग्नुपरेको क्षतिप्रति दुःख व्यक्त गर्दै कार्यकर्तालाई देश र जनताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरे । उनले नेपाली जनताको चाहनाअनुसार संविधान कार्यान्वयन गरेर नयाँ तरिकाले मुलुकलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
संविधान दिवस कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका र वडा कमिटीका प्रतिनिधि सहित झन्डै ७ सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको धनकुटा जिल्ला सचिव परशुराम नेपालले जानकारी दिए।




















