काठमाडौँ — जेन–जी आन्दोलनकारीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

शुक्रबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा जेन–जीका प्रतिनिधिहरूले आन्दोलन दबाउन राज्य शक्ति दुरुपयोग भएको आरोप लगाउँदै ती तीन जनाको गिरफ्तारी माग गरेका हुन्।

जेन–जीका सल्लाहकार डा. निकोलश भूसालले राष्ट्रियसभा विघटन गरेर संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने माग राखे। साथै उनले २०४६ सालयता सम्पूर्ण उच्च तहका नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए।

जेन–जी आन्दोलनका घाइते हरि अधिकारीले कुशासनविरुद्धको यो आन्दोलन माग पुरा नभएसम्म जारी रहने बताए। सहिद परिवारकी नर्गिस थापाले आफ्ना परिवारको बलिदानको अपमान नहुने गरी सरकार अघि बढ्नुपर्ने चेतावनी दिइन्।

कार्यक्रममा सल्लाहकारहरू कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा. सुन्दर थापा, वैज्ञानिक कपिल पौडेललगायत वक्ताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागु नगरेसम्म देश विकासको बाटोमा अघि बढ्न नसक्ने धारणा राखे। उनीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन र देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव पनि दिए।

अभियान्ता कुशलव केसीले सहकारी पीडितको पक्षमा आफू लामो समयदेखि सडकमै रहेको बताउँदै सहकारी पीडितका माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए।