काठमाडौं — दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरानका मेयर हर्क साम्पाङलाई मर्यादामा बस्न आग्रह गरेका छन्।

भट्टराईले सामाजिक सञ्जालमा लेख्दै पछिल्लो समय दुई मेयरबीच भइरहेको कटाक्ष र टिकाटिप्पणीले समग्र स्थानीय जनप्रतिनिधिको शिर निहुरिएको बताएका छन्।

उनले लेखेका छन्, “भदौ २३ र २४ गते जेन्जीले भ्रष्टाचार नियन्त्रणलगायत माग राखेर गरेको आन्दोलनका क्रममा तत्कालीन सत्तारूढ दलको बहिर्गमन र सुशीला कार्की नेतृत्वमा सरकार गठनको प्रक्रिया देखिएपछि चर्चामा आएका यी दुई मेयरको अभिमान र गतिविधिले हामी सबै जनप्रतिनिधीको शिर निहुराउने काम भएको छ। अहिले देश आहत छ, तर यी दुई सामाजिक सञ्जालबाट भालेजुधाई खेलेर स्थानीय सरकारको गरिमालाई कमजोर पार्दै हुनुहुन्छ।”

भट्टराईले चेतावनी दिँदै भनेका छन्, “यस्तो अभिमान र अमर्यादित चरित्र प्रदर्शन भइरहेमा देशभरका मेयर नागरिकबाट तिरस्कारको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। एउटाले बिगार्ने शाखा सन्तान पिरोल्नेझैं भएको छ।”

उनले बालेन र हर्कलाई कटाक्ष मात्र  होइन, हातेमालो गरेर अघि बढ्न, सम्मान र सद्भाव बढाउन पनि आग्रह गरेका छन्।