काठमाडौँ—नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले पत्रकार टेकमान शाक्यलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। शनिबार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्की दिने घटना निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताएका छन्।

नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक शाक्यले शुक्रबार विहानदेखि बस्नेत र उनको समूहले फोन र सन्देशमार्फत ज्यानै लिनेसम्मका धम्की दिएको गुनासो गरेका थिए। महासंघले बस्नेत स्वयं र उनका सहयोगीले पत्रकारलाई आतंकित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघको प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारप्रति असहमति भए कानूनी बाटोबाट आफ्नो पक्ष राख्न सकिने, तर धम्की दिएर प्रेस स्वतन्त्रता हनन गर्न नहुने चेतावनी दिएको छ।

महासंघले पत्रकारलाई धम्की दिने कार्यमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गरेको छ।