काठमाडौँ — पोखरा महानगरपालिका कार्यालय अगाडि भदौ २४ गते भएको प्रदर्शनमा अश्रुग्यासको सेल लागेर गम्भीर घाइते भएका विवेक (१७, नाम परिवर्तन) अहिले स्वास्थ्यलाभको क्रममा छन्। उनीसहितको अवस्था र जेनजी आन्दोलनमा बालबालिकामाथि भएका अधिकार उल्लङ्घनको विवरण समेटिएको प्रतिवेदन सेभ द चिल्ड्रेन र बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले सार्वजनिक गरेका छन्।

प्रतिवेदनका अनुसार जेनजी आन्दोलनका क्रममा बालबालिकालाई टाउको, छाती र पेटमा गोली हानिएको, हिरासतमा लिइएको, यातना दिइएको र अत्यधिक अश्रुग्यास प्रयोग गरिएको देखिएको छ। यसले संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि, नेपालको संविधान र बालबालिकासम्बन्धी कानुनको स्पष्ट उल्लङ्घन गरेको प्रतिवेदनले औंल्याएको छ।

अधिकारकर्मीहरूले आन्दोलनमा बालबालिकालाई मानव ढालको रूपमा प्रयोग गरिएको हो कि भन्ने गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले प्रभावित बालबालिका र परिवारलाई स्वास्थ्य, मनोसामाजिक, कानुनी र शैक्षिक सहयोग तुरुन्त उपलब्ध गराउन र घटनामा संलग्नमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिवेदनले आन्दोलनका क्रममा देशभरका २९ कारागारबाट १२ हजार ४९६ कैदी फरार भएको र ६१८ बालबालिका सुधारगृहबाट भागेको तथ्य सार्वजनिक गरेको छ। यसले सार्वजनिक सुरक्षा र बाल संरक्षण प्रणालीमा ठूलो चुनौती देखाएको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रिय मानवअधिकार आयोग, बाल अधिकार परिषद्का पूर्वअधिकारिकर्मी र अन्य सरोकारवालाले दीर्घकालीन प्रभावको अध्ययन, बालबालिकाको सहभागिता र सुरक्षा संयन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।