काठमाडौं — हिजोदेखि अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडक खण्डमा आज पनि पहिरो हटाउने प्रयास असफल भएको छ ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, “आज दिनभर बाटो खोल्ने प्रयास भयो, तर दुवै साइडबाट ठूलो ढुंगा र लेदो झर्दा एक्साभेटरमा क्षति हुने खतरा थियो। रातको समयमा जोखिम बढेकाले र प्रमुख जिल्ला अधिकारीहरुको अनुरोध अनुसार काम भोलि बिहान ३ बजे सम्म स्थगित गरिएको छ। हाम्रो टिम अहिले पहिरो गएको स्थानमा छ र स्थिति सामान्य भएसँगै बाटो खोल्ने काम सुरु गर्नेछ।”
शुक्रबार साँझ करिब ६ः३० बजे तुइन खोला पुल नजिकै ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो। आज बिहान ७ः४० बजे फेरि ठूलो पहिरो खस्दा करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइ को पहिरो बनेको छ। करिब ७० मिटर माथिबाट ढुंगा झर्दै सडकमा जोखिम बढेको सडक विभागले जनाएको छ।




















