काठमाडौँ — नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडकमा फँसेका आफ्ना सदस्यहरूको उद्धार र सहयोगका लागि टिम परिचालन गरेको छ। संगठनका महासचिव केशव थापा (निरु) को संयोजकत्वमा टिम गठन गरी आपत्‌मा परेकालाई सम्पर्क गर्न आग्रह गरिएको छ।

असोज ३ गते साँझ तुइन खोला पुल नजिक गएको पहिरोका कारण करिब ४० घण्टादेखि भरतपुर–नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको छ। यस अवरोधले करिब ३५ हजार सवारी साधनमा काम गर्ने ८० हजार मजदुर र करिब ५ लाख यात्रु प्रभावित भएका छन्।

समस्यामा परेका मजदुरलाई सहयोग गर्न महासचिव थापा (९८५५०६११५२), चितवन अध्यक्ष दिपक सिलवाल (९८४५०२४४३३) र कोषाध्यक्ष राजु पौडेल (९८५५०५१३६३) लाई सम्पर्क गर्न संगठनले आग्रह गरेको छ।

संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले सबै शक्ति प्रयोग गरेर पहिरो पन्छाउनुपर्ने माग गरेका छन्। उनले सडक डिभिजन कार्यालयको सीमित उपकरणमा मात्र भर पर्नु नहुने भन्दै तत्काल वैकल्पिक व्यवस्था गर्न सरकारलाई अपिल गरेका छन्।