काठमाडौं—जेन–जी आन्दोलनका क्रममा कालो कम्ब्याट ड्रेस, मास्क, टोपी र बडी प्रोटेक्सन ज्याकेट लगाएर वाकिटकी बोकेर देखिएका युवकबारे सामाजिक सञ्जालमा चर्को चर्चा चलेको छ।

कतिपयले उनलाई आन्दोलनमा घुसपैठ गर्ने वा आन्दोलनकारीमाथि गोली प्रहार गर्ने व्यक्ति भनेर फोटो र भिडियो शेयर गरिरहेका थिए। तर प्रहरी अनुसन्धानपछि ती युवक ‘हामी नेपाल’ संस्थासँग आवद्ध २१ वर्षीय जेनिस महर्जन भएको पुष्टि भएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार महर्जन ‘हामी नेपाल’ संस्थाका सक्रिय स्वयंसेवक हुन्। संस्थापक सुधन गुरुङले समेत महर्जन आफ्नै टिमका सदस्य भएको जनाएका छन्।

गुरुङका अनुसार महर्जनले जाजरकोट भूकम्पका बेला सेनाबाट उपहारस्वरूप प्राप्त गरेको कम्ब्याट पोशाक लगाएका हुन्। वाकिटकी भने भिडमा आपसी सम्पर्क र विशेषगरी मेडिकल टिमसँग घाइते पुर्‍याउने काम सहज बनाउनका लागि प्रयोग गरिएको गुरुङको दाबी छ।

यसअघि सामाजिक सञ्जालमा ती युवकको उपस्थितिलाई लिएर विभिन्न अड्कलबाजी र अफवाह फैलिएको थियो। प्रहरीको पुष्टि र संस्थाको भनाइसँगै भ्रम हट्ने अपेक्षा गरिएको छ।