काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनको प्रारम्भिक चरणमै मन्त्री नियुक्तिमा ठूलो दबाब परेको खुलासा गरेकी छन्।

उद्योगी–व्यवसायीहरूसँग आइतबार भएको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, “कुलमान जीलाई नराखेको भए मन्त्रिमण्डल नै नबन्ने अवस्था थियो। हामी सडकबाट बनेका हौं र सबै माग सडकबाट आएको हो। हामी जसलाई पनि सहयोग गर्न तयार छौं।”

जेन–जि आन्दोलनपछि उत्पन्न परिस्थितिबारे सबैलाई जानकारी भएको भन्दै उनले आफ्नो मन पवित्र भएर सरकारमा सहभागी भएकाले सबै पक्षसँग सहकार्य गर्न तयार रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा निजी क्षेत्रको क्षति भएकोमा दुःख व्यक्त गर्दै प्रश्न गरिन्, “जसले भित्रबाट पनि दिन्छ र बाहिरतिर पनि दिन्छ, उसको घरमा किन आगजनी भयो? निजी क्षेत्रमा किन प्रहार भयो? के–को रिस हो कुनि?”

उनले उद्योग–व्यवसाय सञ्चालनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै महिला उद्यमी महासंघ नेपालको जस्तै देशभर उद्यमी विकासका पहलहरू गर्नुपर्नेमा जोड दिइन्। साथै, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको पनि उनले बताइन्।