काठमाडौं — प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले न्यायको माग गर्दै आन्दोलनरत निहारिका राजपुत र बिनु यादवलाई गृहमन्त्री सुधन गुरुङसँग भेट गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

आइतबार बसेको समितिको बैठकले आन्दोलनरत दुवै पक्षलाई गृहमन्त्रीसँग भेट गराउन आवश्यक समन्वय गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिकी सभापति समीक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्ना गुनासा तथा माग सम्बन्धित मन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न पाउने अधिकार रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक वातावरण बनाउन मन्त्रालयलाई आग्रह गर्नुभयो। उहाँले निहारिका र बिनुको मागका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समाधानका लागि पहल गरिने पनि जानकारी दिनुभयो।

निहारिका राजपुत र बिनु यादव आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै केही दिनदेखि सिंहदरबारको दक्षिण गेटमा धर्ना दिँदै आएका छन्। धर्नाका क्रममा उनीहरू र प्रहरीबीच पटक–पटक धकेलाधकेल तथा धरपकडसमेत भएको थियो। उक्त घटनापछि उनीहरूको आन्दोलन र मागबारे सार्वजनिक चासो बढेको छ।

संसदीय समितिको निर्देशनपछि अब गृह मन्त्रालयले आन्दोलनरत पक्ष र गृहमन्त्रीबीच भेटघाटको व्यवस्था कहिले र कसरी मिलाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।