काठमाडौं—सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ।
जेन–जी आन्दोलनको दमनमा संलग्न साथै भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यस्तो कारबाहीबारे छलफल भएको सरकारी स्रोतले जनाएको छ।
सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का केही शीर्ष नेताहरूको राहदानी रोक्ने प्रक्रिया अघि बढाएको हो।
स्रोतका अनुसार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम किटेरै आएको छ। त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पनि ‘वाचलिस्ट’ मा राख्ने गृहकार्य भइरहेको छ।
यसै क्रममा सम्पत्ति शुद्धीकरण विभागले हालै देउवा, पूर्व मन्त्री दीपक खड्का, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ओलीको निवासमा पुगेर मुचुल्का उठाइसकेको छ। जेन–जी आन्दोलनका क्रममा ती घरहरूमा आगजनी हुँदा जलेको अवस्थामा नगद रकम भेटिएको भन्दै भिडियो र तस्वीरहरू सार्वजनिक भएका थिए।
राहदानी रोक्काबारे सरकारले अध्यागमन विभागसँग कानुनी प्रक्रिया र आधारबारे परामर्श गरेको छ। राहदानी ऐन, २०७६ अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, संगठित अपराध वा आतंकवादसम्बन्धी अनुसन्धान चलिरहेको अवस्थामा सम्बन्धित निकायले पासपोर्ट रोक्का गर्न पत्राचार गर्नसक्छ।
अहिलेसम्म भने कुनै नेताको राहदानी आधिकारिक रूपमा रोकिएको छैन, तर तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।



















