काठमाडौं — ‘जेनजी आन्दोलन’का क्रममा तोडफोड र अराजक गतिविधि भएपछि हायात रेजेन्सी होटलले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।
होटलका मानव संसाधन निर्देशक मोहम्मद यूसुफ चौधरीले शुक्रबार एक सूचना जारी गर्दै आन्दोलनका क्रममा भएको क्षति र सुरक्षासम्बन्धी संवेदनशीलताको कारण तत्काल होटल सञ्चालन गर्न नसकिने जनाएका छन्।
सूचनामा भनिएको छ कि होटल परिसरमा भएको तोडफोड र अराजक क्रियाकलापका कारण व्यवसायिक गतिविधि पूर्ण रूपमा प्रभावित भएका छन्। होटलले मर्मत र पुनर्निर्माणको कार्य सम्पन्न भएपछि मात्र पुनः सञ्चालनबारे निर्णय लिने जनाएको छ।
“होटलको मर्मत तथा पुनर्निर्माण कार्यका क्रममा उत्पन्न हुन सक्ने जोखिम र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै हाललाई सम्पूर्ण व्यवसायिक सेवा स्थगित गरिएको छ,” सूचनामा उल्लेख छ।
सुरक्षाको कारण देखाउँदै होटलले सम्पूर्ण श्रमिकलाई अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन समेत आग्रह गरेको छ। चौधरीले जारी गरेको सूचनामा भनिएको छ, “यस विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भई निर्णय भएपश्चात् मात्रै आगामी कदमबारे जानकारी दिइनेछ।”




















