पार्टी चलाउन नसकिने निष्कर्षमा पुगेका पतञ्जली प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका ‘नैतिकवान’ नेता माधव माओवादीसँग एकताको नाटक मञ्चन गरेर एमालेको चुलोचौकामा ओलीपछिको पदीय पिर्काको अफर पाइन्छ कि भनेर कुर्दैछन
- निर्मल भट्टराई ✍
म त्यस्तै चार वा पाँच कक्षामा पढ्दो हुँ । एक जना रसिलो शिक्षक कक्षामा छिर्नुभो । परिचयको आदान-प्रदानपछि पाठ प्रवेश गर्नु अघि उहाँले कहिल्यै नसकिने कथा सुनाउनु भयो । कथा यस्तो थियो-‘एकादेशमा एउटा ठूलो जङ्गल थियो। त्यो जङगलको एक रूखमा भरिभन्न चरा बसेका थिए । त्यो रूखमा एउटा शिकारीले बन्दुकले ड्याम्म हान्यो । चरा उडेर अर्को रुखमा गए । शिकारीले फेरि त्यो रूखमा बन्दुक हान्यो । चरा भुर्र उडेर अर्को रुखमा गए । फेरि शिकारीले ड्याम्…..!
नेपालको वाम एकताका कथा पनि कहिल्यै नसकिने कथा भएको छ। सन १९६२ मा चिनियाँ नयाँ जनवादी क्रान्तिका हिमायती कमरेड पुष्पलाल र रशियन कम्युनिष्ट पार्टीका पक्षधर केशरजंग रायमाझीको समयदेखि विभाजित नेपालको वाम आन्दोलनले वाम एकताको निरन्तर बहस पैरबी गर्दै आएको छ । नेपालका दुइ प्रमुख वाम धार- एमाले र माओवादी कहिले एकता र कहिले विभाजनको घनचक्करबाट यहाँसम्म आइपुगेका हुन् ।
शुरुवाती चरणमा कट्टर माओ हिमायती तत्कालीन माले समयक्रममा शन्तिपूर्ण प्रतिस्पर्धाको बाटोमा आएपछि देशका धेरै वाम भङ्गालाहरू समेटिंदै अहिलेको भीमकाय एमाले बन्यो भने शुरूमा माओ विचारधारालाई आफ्नो बटम लाइन बनाउँदै आएको र पछि “माओवादी” बनेर चीनमा माओले गरेझैं गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुध्दको बाटो अवलम्वन गर्ने प्रचण्ड समूहसँग पनि विभिन्न साना वाम समूहले साथ दिएपछि एकपटक माओवादी शक्ति नेपालकै ठूलो वाम शक्ति बनेको थियो । तर माओवादी सत्तामा पुगेपछि, विचारमा र व्यवहारमा प्रचण्डको ठूलै ग्याप देखिएपछि, आफू र आफ्नो परिवारबाहेक अरूलाई व्यवहारत: वास्ता नगर्ने प्रचण्ड शैलीका कारण माओवादीबाट झण्डै दर्जन समूह अलग भए र मरीच चाउरिएको हालतमा माओवादी शक्ति पुग्यो ।
एमाले र माओवादी एकता सबभन्दा ऐतिहासिक र परिणाममुखी थियो । यसले संसदको झण्डै दुई तिहाइ शक्ति आर्जन गरेको थियो । नेपाली कांग्रेसलगायतका दक्षिणपन्थी शक्तिलाई इतिहासकै सानो शक्तिमा धकेलिदिएको थियो । तर त्यो एकता नेताहरूको व्यक्तिगत महत्वाकाङ्क्षा र जुँगाको लडाईंका कारण क्षणभङ्गुर भयो । एमाले र माओवादी पिण्डम् स्थाने पिण्डम् हुँदा माओवादीको एक हिस्सा एमालेमै रह्यो भने एमालेलाई चोइट्याएर माधव-झलनाथले छुट्टै वाम समूह गठन गरे।
जेन-जी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा एमाले र नेमकिपाबाहेकका प्राय: सबै वाम दलहरू वाम एकता, वाम मोर्चा वा सहकार्यको गृहकार्यमा छन् । भन्न परोइन, एमाले मोर्चावादी पार्टी पनि होइन, वैचारिक धरातलमा हुने वाम ध्रुवीकरणबाहेक कुनै चटकी वाम एकताको पक्षधर पार्टी पनि होइन । नेमकिपा घोषित रूपमा कोहीसँग नमिल्ने जुछे विचारधारा बोकेको सानो वाम पार्टी हो।
प्रचण्डले नेतृत्व गरेको माओवादी समूह र माधव नेपालले नेतृत्व गरेको समाजवादी समूहको तुफानी एकताको अहिले बजारमा चर्चा छ । आस्वासन शिरोमणि प्रचण्ड माधव समूहलाई निलेर मोटाइ हाल्ने पक्षमा छन् भने पार्टी चलाउन नसकिने निष्कर्षमा पुगेका पतञ्जली प्रकरणमा भ्रष्टाचार मुध्दा खेपिरहेका “नैतिकवान” नेता माधव नेपाल माओवादीसँग एकताको नाटक मञ्चन गरेर एमालेको चुलो चौकामा ओलीपछिको पदीय पिर्काको अफर पाइन्छ कि भनेर कुर्दैछन् ।
माधव नेपाल माओवादीको सेकेण्ड पर्सन हुन हुन जान्छु भने पनि वास्तवमा उनी एमालेको सेकेण्ड पर्सनको अफर ढुकेर बसेका छन् । किनभने उनलाई थाहा छ, बाबुराम, किरण, विप्लव कोही टिक्न नसकेको माओवादीमा उनी बिक्न पनि सक्दैनन्, टिक्न पनि सक्दैनन् । अर्को कुरा पनि चतुर माधव नेपाललाई थाहा छ, प्रचण्डसँगको एकताले उनी र उनका पक्षधर नेतालाई कुनै ‘फाइदा’ हुँदैन। माओवादीको वैशाकी टेकेर कसैले भनिएको फागुन २१ को निर्वाचनमा कसैले जित्दैनन्।
नेपालमा वाम एकता कुनै वैचारिक बहस र एकताको विषय बनेन, देश निर्माण र समाजवाद निर्माणको विषय बनेन, केवल पदीय खेलको विषय बन्यो । नेताहरूमा जुट्नभन्दा फुट्न रमाउने मनोवृत्ति रहेसम्म एकता हुन सक्दैन, भइहाले क्षणभङ्गुर हुन्छ ।



















