काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि प्राप्त गर्नुभएको छ। गत भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा भंगालस्थित निवासमा भएको आगजनीमा उहाँको नागरिकता जलेको थियो।

उहाँले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएर निस्किनुभएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार, “पाँच–सात मिनेटमै काम सम्पन्न भयो। उहाँ नागरिकताको प्रतिलिपि लिएर निस्किसक्नुभएको छ।”

आगजनीमा भण्डारीको नागरिकतासँगै राष्ट्रिय परिचयपत्र, राहदानी, प्यान कार्डलगायत अन्य महत्वपूर्ण कागजात पनि जलेको थियो। प्रशासनले घरमै नागरिकता बनाइदिने प्रस्ताव राखेको थियो, तर भण्डारीले “म पनि सर्वसाधारण हुँ, त्यसैले आफैं गएर बनाउँछु” भनी उपस्थित हुनु भएको थियो।

स्रोतका अनुसार, “प्रशासनले घरमै आएर नागरिकता बनाइदिन्छौं भनेको थियो, तर उहाँले आफैं उपस्थित भएर प्राप्त गर्नुभयो,” भन्ने जानकारी दिइएको छ।