केराबारी — मोरङको केराबारी गाउँपालिकामा गाई–भैंसीमा हुने खोरेत रोग नियन्त्रणका लागि निःशुल्क खोप अभियान सुरु गरिएको छ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको प्रमुख आतिथ्यता र वडा नं. ८ का अध्यक्ष कमल कुमार बस्नेतको अध्यक्षतामा आइतबार उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय र पशु, पंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशको सहयोग तथा समन्वयमा र केराबारी गाउँपालिका पशु पंक्षी शाखाको आयोजनामा अभियान सञ्चालन गरिएको हो।
“गाई–भैंसीमा खोरेत रोग विरुद्ध निःशुल्क खोप लगाऔँ, पशुजन्य पदार्थको निर्यातमा टेवा पुर्याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ” भन्ने नारासहित सुरु गरिएको यस अभियानको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, सम्बन्धित शाखाका कर्मचारी र स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति थियो।
गाउँपालिकाका अनुसार, यो खोप अभियान एक महिनासम्म सञ्चालन हुनेछ र यस अवधिमा गाउँपालिकाका सबै वडामा खोरेत रोगविरुद्धको खोप लगाइनेछ।
कृषि तथा पशुपालन क्षेत्रको संरक्षण र किसानको आयआर्जनमा वृद्धि ल्याउने उद्देश्यका साथ सुरु गरिएको यो अभियानले स्थानीय स्तरमा पशुधन सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



















